गाजामा शव गाड्नसमेत ठाउँ अभाव, ४० भन्दा बढी चिहान ध्वस्त

भदौ ८- गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा मृतकको शव गाड्नसमेत ठाउँको अभाव हुन थालेको छ। युद्धका क्रममा ४० भन्दा बढी चिहान ध्वस्त भएपछि परिवारहरूलाई अन्त्येष्टि गर्न थप कठिनाइ भएको छ।
समाचार संस्था अलजजीराका अनुसार गाजामा हजारौँ शव बगैँचा, विस्थापितहरूका शिविर, विद्यालय तथा अस्पताल परिसरजस्ता अस्थायी स्थानमा गाडिएका छन्। ठाउँ र आवश्यक सामग्रीको अभावका कारण कतिपय चिहानमा ढुङ्गा राखेर मृतकको नाम लेखिएको कागज टाँस्ने गरिएको छ।
सन् २०२५ को अक्टोबरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम घोषणा भएपछि इजरायली आक्रमणमा केही कमी आएको छ। त्यसपछि परिवारहरूले ध्वस्त घरका भग्नावशेष तथा अस्थायी चिहानबाट आफ्ना मृत आफन्तका शव निकालेर पुनः अन्त्येष्टि गर्न थालेका छन्। युद्धविरामपछि मात्रै कम्तीमा १ हजार २०० प्यालेस्टिनीको मृत्यु भएको गाजाका अधिकारीहरूले बताएका छन्।
अस्पताल परिसरमा बनाइएका सातवटा सामूहिक चिहानबाट ५२९ जनाको शव निकालिएको अधिकारीहरूको भनाइ छ। सन् २०२३ मा युद्ध सुरु भएयता गाजामा ७३ हजारभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ४० भन्दा बढी चिहान ध्वस्त भएका छन्। साथै, इजरायली सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा चिहानसम्मको पहुँचमा लगाइएको प्रतिबन्धले पनि परिवारहरूका लागि उपलब्ध अन्त्येष्टि स्थल घटाएको छ।
इजरायली बमबारी र विस्थापनका कारण चिहानका लागि छुट्याइएका कतिपय क्षेत्रसमेत विस्थापितहरूका लागि आश्रयस्थलमा परिणत भएका छन्। यसले शव गाड्नका लागि नयाँ ठाउँ खोज्ने चुनौती थपिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



