मिडिया हाउस र नेता निवासअघि राखिएका शंकास्पद गाडीबारे गहिरो अनुसन्धान भएन

काठमाडौं, असार ३० – विभिन्न सञ्चारमाध्यम र नेताको निवासअगाडि सोमबार शंकास्पद रूपमा राखिएका गाडीलाई सामान्य जरिवाना तिराएर छाडिएको छ ।
शंकास्पद रूपमा राखिएका गाडीबारे प्रहरीले अनुसन्धान भइरहेको भनेपनि गाडी धनीसँग सामान्य सोधपुछ समेत नगरी छाडेको पाइएको हो । काठमाडौँका विभिन्न सञ्चारमाध्यम र नेताको निवास अगाडि सोमबार शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाले दिनभर चर्चा पाएको छ ।
राजनीतिक दल,नागरिक समाज लगायतले गम्भीर छानबिन गर्न माग गरेपनि उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्रेन प्रयोग गरेर उठाएका ती गाडीहरूलाई सामान्य जरिवाना तिराएर साँझ फिर्ता गरेको छ । बिहान गाडी छाडेर हिँडेकाहरू क्रेनले गाडी उठाएर रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पु¥याएको सूचना पाएपछि साँझ कार्यालय पुगेका थिए । उनीहरू अनधिकृत रूपमा पार्किङ गरेको कसुरमा जरिवानाको चिट काटेर आफ्ना गाडी लिई फर्किएका हुन् ।
अनधिकृत रूपमा पार्किङ गरिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार जरिवाना गराउने गरिएको छ । शंकास्पद रूपमा पार्किङ गरेर हिँड्नेहरूलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गराइएको भएपनि ती गाडीहरू त्यहाँ किन राखिएका थिए भन्ने कुरा अनुसन्धानको दायरामा परेको छैन ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडिया हाउस र पत्रकारका गाडीलाई दिनभर बन्धक बनाउने सवारीसाधनलाई सामान्य ५ सय रुपैयाँ जरिवाना मात्रै गराएर छाडिएकोमा कडा आपत्ति जनाउँदै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



