आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा

काठमाडौं असार ६- ललितपुरको जाउलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हुँदैछ ।
रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्रप्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ । नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो ४ बजेपछि देखाउने तयारी छ ।
भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक,मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो ।
यसैक्रममा रथलाई जावलाखेल पु¥याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ । आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ । साथै,मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ । रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यकाका विभिन्न ठाउँबाट आएकाहरु ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



