आज सातवटै प्रदेशहरुले बजेट सार्वजनिक गर्दै, सुशासन,कृषि र पर्यटनमा जोड

काठमाडौँ, असार १ - संवैधानिक व्यवस्थाअनुसार आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक गर्दैछन् ।
संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष असार १ गतेभित्र प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने प्रावधान छ । प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन् ।
मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले दिउँसो ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे, र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्दैछन् ।
आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन् । संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन् । तर, सबैजसो प्रदेशको चालु आवको बजेट कार्यान्वयन अवस्था भने सन्तोषजनक छैन ।
प्रदेश सरकारहरू केन्द्र सरकार जस्तै बजेट खर्च गर्ने सन्दर्भमा कमजोर अवस्थामा देखिन्छन् । यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



