इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

जेठ १०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराएका छन् । प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ । ट्रम्पले यसबारे थप विवरण भने खुलाएका छैनन् । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघायी हमानेहले पनि अमेरिकी र इरानबीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढेको बताएका छन् ।
तर,मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको आरोप इरानले लगाएको छ । ट्रम्पले साउदी अरेबिया, युएई, कतारसहित अन्य खाडी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताएका छन् । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए । अप्रिलको शुरुवातमा युद्ध विराम भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ ।
वार्ताको मध्यस्थता पाकिस्तानले गरिरहेको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



