Global TV Logo
लोड हुँदैछ...

मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

S
Sristi Thakuri
२०२६-०९-१६, ०५:३५ AM
होमपेज/राजनीति
मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

 काठमाडौं  , भदौ ३१ - नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले आज जारी गरेको प्रेस नोटमा जनतालाई राहत दिनुको सट्टा सरकार आफ्नो असफलता र कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाइएको हो । आचार्यले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरेका छन् । ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नसकेर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाउँदै आचार्यले एमालेविरुद्ध दुष्प्रचार गरिएको दाबी समेत गरेका छन् । उनका अनुसार ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको कृत्रिम परिचय दिँदै ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको जिकिर गरेका छन् । प्रचार विभाग प्रमुख आचार्यले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपसमेत लगाएका छन् । आचार्यले सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दाबी गरेका छन् । उनले भ्रम र दुष्प्रचारको राजनीति लामो समय नचल्ने उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री तथा त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनी समेत दिएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com