एमाले स्थायी कमिटी बैठक भोलि, विद्या भण्डारी पहिलोपटक सहभागी हुँदै

काठमाडौँ , असोज २१ - नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।
स्थायी कमिटी बैठक भोली असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका हुन् । एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको हो । असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो । यद्यपि स्थायी कमिटीले पूर्णता पाएको छैन ।
बैठकमा पहिलोपटक वरिष्ठ नेताका रुपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन् । हालै सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप ७ जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो । बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रुपमा मनोनयन गरेको थियो । भण्डारी २०७२ साल कातिक ११ देखि २०७९ साल फागुन २९ सम्म दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन् ।
बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने भएको छ । त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चसहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लाग्ने बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...

