सुकुम्बासी बस्ती हटाउँदा राज्य अमानवीय बन्यो : प्रदीप पौडेल

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने क्रममा राज्यले अमानवीय र असंवेदनशील व्यवहार देखाएको आरोप लगाए । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विस्थापनको व्याकुलता : शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पर्याप्त समय, विकल्प र व्यवस्थापनविना बलपूर्वक बस्ती खाली गराउनु दुःखद भएको बताए ।उनले बस्तीमा बस्ने सबै व्यक्तिलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गर्दै वास्तविक सुकुम्बासीको पहिचान गरेर मात्र उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे। राज्यले बस्तीभित्र रहेका नागरिकको अवस्था अध्ययन नगरी हतारमा कदम चालेको उनको आरोप थियो ।महामन्त्री पौडेलले बस्ती हटाउँदा विद्यालय जाने बालबालिका, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरूमाथि परेको असरप्रति राज्य संवेदनशील बन्न नसकेको टिप्पणी गरे ।उनले भने , “पहिले वास्तविक सुकुम्बासी र अन्य व्यक्तिको वर्गीकरण गरेर त्यसअनुसार व्यवस्थापन गर्नुपर्थ्यो । उचित समयसीमा र वैकल्पिक व्यवस्था दिनुपर्नेमा राज्य त्यसमा पूर्ण रूपमा चुकेको देखियो ।”पौडेलले घरमूलीको गल्ती भए पनि त्यसको असर निर्दोष बालबालिका र कमजोर अवस्थाका मानिसमाथि पर्न गएको उल्लेख गर्दै यस्तो घटनाले विस्थापित परिवारमा गहिरो मानसिक तनाव र असुरक्षा सिर्जना गरेको बताए । उनका अनुसार वैकल्पिक बसोबास, मनोवैज्ञानिक परामर्श र सामाजिक सुरक्षाको सुनिश्चितताविना गरिएको विस्थापनले धेरै परिवारलाई मानसिक रूपमा आघात पुगेको छ ।महामन्त्री पौडेलले राज्यले जिम्मेवार ढंगले समाधान खोज्नुको सट्टा हतारो र बल प्रयोगको बाटो रोजेको आरोप लगाउँदै नेपाली काँग्रेसले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरिसकेको जानकारी दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



