तपिंताँ पार्कमा पूर्व प्रमुख प्रेमलाल सिंहको प्रतिमा स्थापना

काठमाडौं, असार २८ — काठमाडौं महानगरपालिका वडा नं. १८ ले तपिंताँ पार्कमा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा स्थापना गरेको छ।
आज आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रतिमाको अनावरण गरिन्। कार्यक्रममा स्वर्गीय सिंहको सम्मानमा एक मिनेट मौनधारण गर्नुका साथै प्रतिमामा पुष्पगुच्छा अर्पण गरिएको थियो।
प्रतिमा अनावरण कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोल, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सिंहका परिवारका सदस्य तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
मूर्तिकार श्याम तुलाधरद्वारा निर्मित धातुको उक्त प्रतिमा करिब ९ लाख ३८ हजार रुपैयाँको लागतमा निर्माण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा नं. १८ ले यसअघि पुष्पलाल पार्कमा मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शङ्खधर साख्वाका प्रतिमा स्थापना गरिसकेको छ। त्यसैगरी किलागलमा नारायणगोपाल, तुन्छे गल्लीमा चित्तधर हृदय तथा वडा कार्यालय परिसरमा चन्द्रानन्द नेवाको प्रतिमा पनि स्थापना गरिएको छ।
वडा कार्यालयका अनुसार वडामा जन्मिएका वा बसोबास गरी राजनीति, गीत–सङ्गीत, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याई वडाको पहिचान अभिवृद्धि गर्ने व्यक्तित्वहरूको सम्मानस्वरूप प्रतिमा स्थापना गर्ने अभियानलाई निरन्तरता दिइएको हो।
लोकप्रिय खबर
लोड हुँदैछ...



