निर्वाचनको हारलाई संकल्पमा बदल्नुपर्छ : शंकर पोखरेल

शंकर पोखरेल ले निर्वाचनको हारलाई निराशाको विषय नभई नयाँ संकल्पका रूपमा लिनुपर्ने बताएका छन्।
नेकपा एमालेका महासचिव पोखरेलले जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकलाई सम्बोधन गर्दै संगठनलाई अझ सशक्त बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
उनले पार्टीले नियमित रूपमा बल्खुस्थित पुरानो केन्द्रीय कार्यालय परिसरमा स्मृति दिवस मनाउँदै आएको स्मरण गराउँदै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी दिए।
पोखरेलले निर्वाचन परिणामबाट पाठ सिक्दै पार्टी कमिटी र जनसंगठनहरू सक्रिय रूपमा परिचालन हुनुपर्ने बताए। उनले भने, “निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन। पार्टी कमिटी र जनसंगठनहरू सक्रिय भएर लाग्नुस्। फेरि जित्नका लागि संकल्प आवश्यक छ।”
उनले वर्तमान चुनावी परिणाम कुनै एक दलको मात्र हार नभई मूलधारका राजनीतिक शक्तिहरूका लागि साझा चुनौती भएको टिप्पणी गरे।
पार्टी जीवनमा विभिन्न उतारचढाव, तरंग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पोखरेलले पार्टी कमिटी तथा जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित भएर संगठन निर्माणमा लाग्न आग्रह गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



