रसुवा बाढी उद्धारमा सघाउन कोरियाले ४४ सदस्यीय टोली पठाउँदै

काठमाडौं , भदौ १६ - दक्षिण कोरियाले रसुवा बाढीपछिको उद्धार कार्यमा सघाउन ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ ।
रसुवा बाढीपछि सिर्जित परिस्थितिमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको हो । दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर विपत् प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रहबमोजिम टोली पठाउन लागिएको जनाएको छ । परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमानमार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्ने बताइएको छ । टोलीले नेपालमा रहेर करिब १० दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ । गत साता आएको विनाशकारी बाढीमा परी एक जलविद्युत् आयोजनामा बेपत्ता भएका नौ जना कोरियाली कामदारको खोजबिनका लागि दक्षिण कोरियाले यसअघि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो । यसैबीच,विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कतारी सशस्त्र बलको विशेष विमानमार्फत ल्याइएको आपत्कालीन मानवीय सहायता सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



