Global TV Logo
लोड हुँदैछ...

साउनदेखि असोजसम्म देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’, हरेक शुक्रबार सरसफाइ कार्यक्रम सञ्चालन हुने

B
Buna Ghimire
२०२६-०७-१२, ११:१३ AM
होमपेज/विशेष समाचार
साउनदेखि असोजसम्म देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’, हरेक शुक्रबार सरसफाइ कार्यक्रम सञ्चालन हुने

काठमाडौं, असार २८ — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ अन्तर्गत साउन, भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्ने भएको छ।

अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जारी गरेको पत्रअनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको यस्तै अभियानबाट डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतनामा उल्लेखनीय वृद्धि भएको तथा समुदायको सक्रिय सहभागिताका कारण सङ्क्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेको निष्कर्ष निकालिएको छ। सोही सफलतालाई निरन्तरता दिन यस वर्ष पनि अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

अभियानअन्तर्गत प्रत्येक हप्ताको शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ। यस क्रममा सार्वजनिक निकाय, सरकारी तथा निजी कार्यालय, विद्यालय र सामुदायिक संस्थाहरूमा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने, सरसफाइ गर्ने तथा डेङ्गु नियन्त्रणसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अभियानलाई सफल बनाउन सबै स्थानीय तह, सरकारी निकाय, शैक्षिक संस्था, सामुदायिक सङ्घसंस्था तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com