Global TV Logo
लोड हुँदैछ...

भारतको नयाँ चिया मापदण्डपछि बन्द इलामका ५३ उद्योग पुनः सञ्चालन हुने

B
Buna Ghimire
२०२६-०६-२५, ०७:४५ AM
होमपेज/आर्थिक
भारतको नयाँ चिया मापदण्डपछि बन्द इलामका ५३ उद्योग पुनः सञ्चालन हुने

काठमाडौँ, असार ९ -भारतले लागू गरेको नयाँ चिया निर्यात मापदण्ड (एसओपी) का कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकास्थित ५३ वटा चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्। चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलपछि उद्योग सञ्चालनका लागि तीन बुँदे सहमति भएको हो।

सहमतिअनुसार भारतीय बजारमा चिया निर्यात सहज नहुन्जेल उद्योगमा मौज्दात रहेको करिब १० लाख किलोग्राम चिया सुरक्षित राख्न नगरपालिकाले व्यवस्थित भण्डारण कक्षको व्यवस्था गर्नेछ। साथै, बजार अवस्था सामान्य नहुँदासम्म किसानलाई उपलब्ध गराइने भुक्तानी केही समयका लागि स्थगित गर्ने विषयमा उद्योगी र किसानबीच समझदारी भएको छ।

चियाको गुणस्तर सुधारलाई प्राथमिकता दिँदै विषादीको प्रयोग पूर्ण रूपमा रोक्ने र नगरपालिका, उद्योगी तथा किसानको संयुक्त सहभागितामा सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।

भारतको चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ नियमअनुसार निर्यात हुने प्रत्येक चिया बोकेको सवारीसाधनको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको थियो। त्यसकै विरोधस्वरूप बन्द गरिएका उद्योग अब सहमतिपछि पुनः सञ्चालनमा आउने भएका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com