अमेरिका–इजरायल हमलापछि भग्नावशेषबाट ७ हजारभन्दा बढीको उद्धार

इरानी रेड क्रिसेन्ट सोसाइटी (आईआरसीएस) ले अमेरिका र इजरायलको हवाई हमलाका क्रममा घरको भग्नवाशेषमा पुरिएका ७ हजार २०० भन्दा बढीलाई जीवितै निकालेको । आईआरसीएसले पहिलोपटक उद्धार अभियानको भिडियो पनि सार्वजनिक गरेको छ । आईआरसीएसले सामाजिक सञ्जलामा शेयर गरेको भिडियोमा आफ्ना उद्धारकर्मी र स्वयंसेवकहरूलाई ध्वस्त भवनहरूको भग्नवाशेषबाट मानिसहरूलाई निकाल्दै गरेको देखाइएको छ । भिडियोमा धेरै अग्ला आवासीय भवनहरू पूरै भत्किएको देखिन्छ । बमबारीपछि धेरै क्षेत्रमा ठूलो स्तरको राहत र उद्धार अभियान सञ्चालन गर्नुपरेको थियो । आईआरसीएसका अनुसार यो युद्ध फेब्रुअरी २८ देखि सुरु भएर अप्रिल ८ सम्म चलेको थियो । यस अवधिमा संगठनले निरन्तर उद्धार अभियान चलाएको थियो । आईआरसीएसले सोसल मिडिया पोस्टमा भनेको छ, ‘युद्धका क्रममा आईआरसीएसका सहायता कार्यकर्ताहरूले भग्वाशेष मुनिबाट ७ हजार २०० भन्दा बढी मानिसहरूलाई जीवितै बचाए ।’ आईआरसीएसले युद्धविराम लागू हुनुअघिसम्म प्रभावित क्षेत्रहरूमा राहत र उद्धार अभियान जारी रहेको जनाएको छ । संगठनका टोलीहरूले औषधि र मानवीय सहायता पनि उपलब्ध गराएका थिए । रेड क्रिसेन्ट सोसाइटी इरानको प्रमुख मानवीय राहत एजेन्सी हो । यसले युद्ध, प्राकृतिक विपत्ति र आपतकालीन अवस्थामा उद्धार तथा चिकित्सा सहायता प्रदान गर्ने काम गर्छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



