Global TV Logo
लोड हुँदैछ...

भारतका युवाको असन्तुष्टि, अब कक्रोच आन्दोलनमा

S
Sristi Thakuri
२०२६-०५-२१, ११:१० AM
होमपेज/अन्तर्राष्ट्रिय
 भारतका युवाको असन्तुष्टि, अब कक्रोच आन्दोलनमा

भारतको सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता ‘कक्रोच जनता पार्टी’ अर्थात सीजेपी अभियान तीव्र रुपमा फैलिरहेको छ । इन्स्टाग्राम, एक्स र अन्य प्लेटफर्महरुमा लाखौँ पोस्ट, मीम र भिडियो यही अभियानसँग जोडिएका छन् । यो सम्पूर्ण विवाद भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तको एउटा अभिव्यक्तिपछि सुरु भएको बताइएको छ । अदालतमा सुनुवाइका क्रममा उनले केही बेरोजगार युवालाई ‘कक्रोचजस्ता’ भन्दै टिप्पणी गरेको आरोप लागेपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको थियो । पछि न्यायाधीश सूर्यकान्तले आफ्नो भनाइ सम्पूर्ण युवालाई लक्षित नभएको स्पष्ट पारेका थिए । उनका अनुसार टिप्पणी नक्कली डिग्री लिएर कानुनी क्षेत्रमा प्रवेश गर्ने केही व्यक्तिहरुप्रति लक्षित थियो । उनले भारतीय युवालाई विकसित भारतका आधारस्तम्भ रहेको समेत बताएका थिए । तर त्यसबेलासम्म सामाजिक सञ्जालमा एउटा नयाँ अभियान सुरु भइसकेको थियो । ३० वर्र्षीय भारतीय युवा अभिजीत दिपकेले एक्समा एउटा पोस्ट गरे — यदि सबै कक्रोचहरु एकजुट भए भने के होला ? यही पोस्ट केही घण्टामै भाइरल बन्यो । त्यसपछि दिपकेले कक्रोच जनता पार्र्टी नाममा वेबसाइट, इन्स्टाग्राम र एक्स अकाउन्ट सुरु गरे । भारतीय जनता पार्र्टीको नामसँग मिल्दोजुल्दो शैलीमा बनाइएको यो अभियान अहिले इन्टरनेटमा व्यापक रुपमा फैलिएको छ । दिपकेका अनुसार भारतका धेरै युवा अहिले बेरोजगारी, परीक्षा घोटाला, महँगी र राजनीतिक निराशाबाट आजित छन् । उनी भन्छन् सत्तामा बसेकाहरुले नागरिकलाई कक्रोच र परजीवी ठान्छन् तर कक्रोचहरु सडेगलेका ठाउँमा जन्मिन्छन् । आजको भारत त्यस्तै बन्दै गएको छ । अभियान सुरु भएको केही दिनमै लाखौँ मानिस सामाजिक सञ्जालमार्फत जोडिएको दाबी गरिएको छ । इन्स्टाग्राममा यसको फलोअर संख्या तीव्र रुपमा बढिरहेको छ भने लाखौँ पोस्टमा ‘म पनि कक्रोच’ भन्ने ह्यासट्याग प्रयोग भइरहेको छ । सीजेपीले घोषणापत्र समेत सार्वजनिक गरेको छ । जसमा बेरोजगारी, परीक्षा घोटाला, राजनीतिक जवाफदेहिता, न्यायिक नियुक्ति, सञ्चारमाध्यमको निष्पक्षता र युवाको प्रतिनिधित्व जस्ता विषय समेटिएका छन् । विशेषगरी भारतमा हालै देखिएका विभिन्न परीक्षा पेपर लिक प्रकरणलाई लिएर अभियान आक्रामक देखिएको छ । सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्रीको राजीनामा मागसमेत गरिएको छ । यस्तै भारतका चर्चित युट्युबर मेघनाद एस ले यसलाई मजाकबाट जन्मिएको गम्भीर राजनीतिक टिप्पणी बताएका छन् । अहिले सामाजिक सञ्जालमा ‘कक्रोच रिभोलुसन’, ‘अल्छी छौँ, तर जीवित छौँ’ जस्ता ह्यासट्याग समेत ट्रेन्ड भइरहेका छन् । यता, कक्रोच पार्टीको नाममा सञ्चालनमा रहेको एक्स अकाउन्ट भने भारतमा नचल्ने बनाइएको छ । सामाजिक सञ्जालबाट सुरु भएको यो व्यंग्यात्मक अभियान आगामी दिनमा केवल इन्टरनेट ट्रेन्डमै सीमित हुन्छ वा भारतीय राजनीतिमा नयाँ बहसको विषय बन्छ, त्यो भने हेर्न बाँकी छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com