Global TV Logo
लोड हुँदैछ...

सीमा विवादमा प्रधानमन्त्री संसदमा पुनः जवाफ दिन तयार

S
Sristi Thakuri
२०२६-०६-०२, ०७:५९ AM
होमपेज/प्रदेश समाचार
सीमा विवादमा प्रधानमन्त्री संसदमा पुनः जवाफ दिन तयार

सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह पुनः संसदमा उपस्थित भएर आवश्यक परे जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। उनले प्रधानमन्त्री सदनप्रति पूर्ण रूपमा उत्तरदायी रहेको स्पष्ट पारेका हुन् ।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले यसअघि पनि संसदमा उपस्थित भएर आफ्नो धारणा राखिसकेको उल्लेख गर्दै आवश्यक परे फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताए ।

नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको अभिव्यक्ति नै सत्य रहेको सरकारको दाबी छ। कतिपय स्थानमा भारतले उपभोग गरिरहेको भूमि नेपालभित्र पर्न सक्ने र नेपालले प्रयोग गरिरहेको क्षेत्र भारततर्फ पर्न सक्ने विषय प्रधानमन्त्रीले पहिले नै उल्लेख गरेको र सोही धारणा यथार्थ भएको प्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार सीमा विवाद समाधानका लागि कूटनीतिक प्रक्रिया र दुवै देशबीच स्थापित संयन्त्रमार्फत छलफल भइरहेको छ। यस विषयमा नेपालले पनि कूटनीतिक नोट पठाइसकेको तथा भारतले पनि आफ्नातर्फबाट पत्राचार गरेको उनले जानकारी दिए।

प्रवक्ता पोखरेलले सीमा समस्या दीर्घकालीन रूपमा समाधान गर्न दुई देशबीचको कूटनीतिक संवाद नै मुख्य माध्यम हुने उल्लेख गर्दै आवश्यक सबै संयन्त्रमार्फत विवाद समाधान गरिने स्पष्ट पारे।परराष्ट्र मन्त्रालयले समेत यस विषयमा पहिले नै स्पष्टता दिइसकेको सरकारको भनाइ छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com