१६ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रतिबन्धको तयारीमा बेलायत

काठमाडौँ, असार १ -बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने घोषणा गरेका छन् ।
प्रधानमन्त्री किअर स्टार्मरले संसद्बाट पारित भएमा यो नियम सन् २०२७ देखि कार्यान्वयनमा आउने जानकारी दिएका हुन् । सामाजिक सञ्जालले बालबालिकालाई दुःखी बनाइरहेको उनको भनाइ छ । उनले बालबालिकालाई दुव्र्यवहार गर्न सामाजिक सञ्जालले पीडकहरूलाई सजिलो बनाइदिएको र सञ्जालहरु लत लाग्नेगरी डिजाइन गरिएको टिप्पणी गरेका छन् ।
प्रतिबन्धले बालबालिकाहरूलाई हुर्कनका लागि थप समय, सुरक्षा र स्वतन्त्रता दिने उनको विश्वास छ । स्टार्मरले बालबालिकाको सुरक्षा र खुसीमा सरकारले कुनै सम्झौता नगर्ने उनले स्पष्ट पारेका छन् । बेलायत सरकारले अस्ट्रेलियाजस्ता देशहरूबाट सिकेर यो नियम बनाउन लागेको जनाएको छ । अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको नियम बनाएको थियो ।
यस्तो नियम बनाउने अस्ट्रेलिया विश्वकै पहिलो मुलुक हो । त्यसयता, इन्डोनेसिया र मलेसियाले पनि सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाइसकेका छन् । फ्रान्स, डेनमार्क, ग्रिस, क्यानेडालगायत अन्य विभिन्न मुलुकले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेगरी कानुन निर्माणको तयारी गरिरहेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



