Global TV Logo
लोड हुँदैछ...

शनिबार रातिदेखि देशभर भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

B
Buna Ghimire
२०२६-०७-१८, ०९:४४ AM
होमपेज/विशेष समाचार
 शनिबार रातिदेखि देशभर भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  काठमाडौ, साउन २ -  जल तथा मौसम विज्ञान विभागले आज राति र भोलि देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। बंगालको खाडीमा बनेको मौसमी प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै गएकाले यसको प्रभावले विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी दिएको हो।

महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रका सडकमा आवागमन व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। विशेषगरी पहाडी जिल्लाका सडक तथा राजमार्गमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालगायत जिल्लामा रातिको समयमा सवारी सञ्चालन गर्दा विशेष ध्यान दिन भनिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ। उहाँले जोखिमयुक्त सडक क्षेत्रमा पहिरो पन्छाउने उपकरणसहित तयारी अवस्थामा बस्न पनि सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com