भारी हिमपातमा माथिल्लो डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट सकुशल उद्धार

काठमाडौँ, कात्तिक १६ - डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।
कात्तिक १४ गतेदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो । उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिएकी छन् । जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा हिमपातका कारण पर्यटक फसेको जानकारी प्राप्त भएको थियो । त्यसपछि उद्धारका लागि पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतीय पर्यटक आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



