अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, कात्तिक १५ - विभिन्न माग राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण रहेको चेतावनी दिएका छन् ।
बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ उनलाई इलाम अस्पताल भर्ना गरिएको हो । इलाम अस्पतालका चिकित्सक डा. अमिताभ ठाकुरका अनुसार केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ । चिकित्सकहरूले उनलाई ग्लुकोज दिन खोजे पनि केसीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा निर्धारित मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन र सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नुपर्नेलगायत छ बुँदे माग अघि सारेका छन् ।
त्यसैगरी, विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत थप गरिएका विद्यार्थी सिट खारेज गर्नुपर्ने, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पूर्वसहमतिअनुसार काम अघि बढाउनुपर्ने उनको माग छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै अनशन बस्दै आएका डा. केसीको यो २५औँ अनशन हो।
लोकप्रिय खबर
लोड हुँदैछ...



