तीन महिनाको युद्धपछि अमेरिका र इरानबीच शान्ति सहमति

तीन महिना लामो विध्वंशपछि अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति भएको छ ।
अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै देश ‘शान्ति सम्झौता’ मा पुगेका हुन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र यो लागू भइसकेको पुष्टि गरेका छन् ।
उनका अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह तय गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेका छन् । सम्झौतापछि राष्ट्रपति ट्रम्पले हर्मुजमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी समेत अन्त्य गर्ने घोषणा गरेका छन् । यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका छन् ।
इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताएका छन् । इरानका उपपरराष्ट्र मन्त्री काजेम गरबाबादीले सरकारी टेलिभिजनमार्फत सम्झौताको पुष्टि गरेका छन् । इरानले सम्झौताको पूर्ण पाठ सोही हस्ताक्षर कार्यक्रमपछि मात्रै सार्वजनिक गरिने जनाएको छ । इरानको आणविक कार्यक्रम जस्ता गम्भीर र जटिल विषयहरूमा भने आगामी दिनहरूमा छलफल गरिने अपेक्षा गरिएको छ । यो सहमति कतार र पाकिस्तानजस्ता मध्यस्थकर्ता मुलुकहरूसँगको सघन वार्तापछि सम्भव भएको हो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणबाट यो युद्ध शुरू भएको थियो । उक्त शुरूआती आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका थिए । त्यसयता इरान र लेबनानमा गरी हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



