‘सीमामा नागरिक असुरक्षित, सरकार मौन’ — सांसद काउचाको आरोप

काठमाडौँ, असार १ -नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले मुलुकको सीमा सुरक्षा, शान्ति सुरक्षा र सरकारको कार्यशैलीप्रति आपत्ति प्रकट गरेकी छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद काउचाले सीमा क्षेत्रमा नेपाली नागरिकले असुरक्षित महशुस गरिरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएकी हुन् । प्रधानमन्त्रीले केही समयअघि ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उक्त भनाइपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको घुसपैठ बढेको उनको दाबी छ ।
साथै उनले प्रधानमन्त्रीको सोही गैरजिम्मेवार अभिव्यक्तिका कारण सुस्तामा भारतीय सुरक्षाकर्मीहरू बारम्बार प्रवेश गर्ने गरेको र स्थानीय बासिन्दाले साहसका साथ उनीहरूलाई धपाउनु परेको उल्लेख गरीन। साथै गत भदौ २३ र २४ गते भएको आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी छन् ।
साथै सांसद काउचाले संसद् र आम नागरिकलाई उपेक्षा गर्ने सरकारी प्रवृत्ति गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उल्लेख गर्दै यस विषयमा सरकारले अविलम्ब सदनलाई स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरेकी छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



