डा. केसीका माग सम्बोधन गर्न सरकार तयार, अनशन स्थगित गर्न आग्रह

काठमाडौँ, कात्तिक १७ - सरकारले अनशनरत डा. गोविन्द केसीले अघि सारेका माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गर्दै माग पूरा गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै केसीलाई अनशन स्थगित गर्न आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा डा. केसीका छ बुँदे माग र विगतमा भएका सहमतिबारे सरकारले गरिरहेको कामको विवरण प्रस्तुत गरिएको छ।
मन्त्रालयका अनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा गरी चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ। त्यस्तै, चिकित्सा शिक्षा आयोगको प्रतिवेदन र स्वीकृत मापदण्डका आधारमा सरकारी मेडिकल कलेजमा सिट वृद्धि गरिएको जनाएको छ।
आयोगका पदाधिकारीमाथि छानबिन गर्ने मागका सम्बन्धमा पनि मन्त्रालयले प्रक्रिया अघि बढाउने उल्लेख गरेको छ। यसैगरी सुर्खेत, बुटवल र बर्दिबासमा सरकारी स्तरबाट चिकित्सा शिक्षा संस्था स्थापना गर्ने काम भइरहेको र आवश्यक बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ।
इलाममा कात्तिक १२ गतेदेखि अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। यो उनको २५औँ अनशन हो भने अनशनको छैटौँ दिन पुगेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



