कोशीबाट कांग्रेसमा एकताको सन्देश कि नयाँ शक्ति संघर्षको सुरुवात?

नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद र शक्ति संघर्ष कोशी प्रदेशबाट थप चर्किने देखिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगन थापा पक्षविरुद्ध यसअघि छुट्टाछुट्टै समूहमा रहेर गतिविधि गरिरहेका तत्कालीन सभापति शेरबहादुर देउवा समूह, नेता शेखर कोइराला समूह र कृष्ण सिटौला समूहले विराटनगरमा आज संयुक्त भेला आयोजना गरेका छन् । कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको जानकारी दिएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिको ब्यानरमा कार्यक्रम हुँदैछ । भेलाको मूल नारा वृहत् एकता, साझा प्रतिबद्धता, हाम्रो भविष्यको सुनिश्चितता रहेको छ । प्रदेश स्तरीय बृहत् भेलाका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला रहने छन् । भेलालाई केन्द्रीय तहका नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बल बहादुर केसी, एन.पी. साउद, राजीव कोइरालालगायतले सम्बोधन गर्ने बताइएको छ ।
भेलामा कोशी प्रदेशका १४ वटै जिल्ला, पालिका तथा वडा तहका पदाधिकारीहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरू र कार्यकर्ताहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाली कांग्रेसको इतर पक्षले विराटनगरको कार्यक्रम केन्द्रीय राजनीतिकै प्रतिविम्ब भएको दाबी गरेका छन् । विशेष गरी क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने विषयलाई लिएर दुई पक्षबिच लामो समयदेखि विवाद जारी छ ।
यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरु उपस्थित भएका थिएन् । कोशी प्रदेश कांग्रेस महामन्त्री भूपेन्द्र राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको जानकारी दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



