अन्नपूर्णमा विदेशी पर्यटकको नयाँ कीर्तिमान, पाँच लाखभन्दा बढी आगमन

काठमाडौं, साउन ५ - नेपालको पर्यटन उद्योगका लागि अन्नपूर्ण संरक्षण क्षेत्र फेरि एकपटक आशाको केन्द्र बनेको छ ।
हिमाल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र साहसिक पदयात्राका कारण विश्वमै परिचित अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्ष उल्लेखनीय संख्यामा विदेशी पर्यटक पुगेका छन् । गत आर्थिक वर्षमा १ सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।
तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक त्यहाँ पुगेका छन् । यसले नेपालको पर्यटन बजारमा भारतीय पर्यटकको प्रभाव दिनप्रतिदिन बढ्दै गएको देखाउँछ । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् । यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बङ्गलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले आव २०८१÷८२ को तुलनामा गत आवमा दोब्बर बढी विदेशी पर्यटक यहाँ आएको बताए। उनका अनुसार आव २०८१÷८२ मा दुई लाख ७८ हजार एक सय १३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका दिए। पर्यटक आगमनमा गत आवमा नयाँ अभिलेख कायम भएको उनको भनाइ छ । गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै तीन सय प्रतिशतले वृद्धि भएको प्रमुख डा कडारियाले बताए। भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएका यो पहिलोपटक हो । भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको प्रवद्र्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारलगायत कारणले भारतीय पर्यटक बढेका हुन्। उक्त याममा गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन्।
वैशाख–जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो। पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ जाने गरेको प्रमुख डा कडरियाले बताए। पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्व प्रसिद्ध गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पुग्ने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले यस क्षेत्र घुमफिरका लागि उत्कृष्ट मानिन्छ । यो संख्या केवल एउटा तथ्यांक मात्र होइन, नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको संकेत पनि हो ।यद्यपि पर्यटकको संख्या बढ्नु मात्र पर्याप्त उपलब्धि होइन। बढ्दो चापसँगै चुनौतीहरू पनि थपिएका छन्। कतिपय पदमार्गमा सडक विस्तारले पदयात्राको मौलिकता घटाएको गुनासो आउने गरेको छ । प्लास्टिकजन्य फोहोर व्यवस्थापन, खानेपानी, शौचालय, सञ्चार सेवा, उद्धार प्रणाली तथा सुरक्षित पदमार्ग निर्माणमा अझै सुधार आवश्यक रहेको स्थानीयहरु बताउँछन् । जलवायु परिवर्तनको प्रभाव पनि हिमाली पर्यटनका लागि अर्को चुनौती बनेको छ । अनियमित वर्षा, हिमपहिरो, बाढी र मौसममा आएको परिवर्तनले पदयात्रा प्रभावित हुने गरेको छ । त्यसैले पर्यटन पूर्वाधार विकाससँगै वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि उत्तिकै छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



