दुर्गेश थापाको ‘मास्टर्नी’ गीतप्रति शिक्षक समुदायको कडा आपत्ति,प्रसारण रोक्न माग

काठमाडौं, साउन १ – नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक दुर्गेश थापाको नयाँ गीत ‘मास्टर्नी’ सार्वजनिक भएपछि त्यसलाई लिएर विवाद चुलिएको छ। आगामी भदौ ५ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक सामग्रीका रूपमा युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतप्रति शिक्षक समुदायले कडा आपत्ति जनाएको हो।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति, सानोठिमी भक्तपुर ले गीतले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि आँच पुर्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार गीतमा विशेषगरी महिला शिक्षकलाई लक्षित गरेर प्रयोग गरिएका शब्द, भाव र प्रस्तुतिले शिक्षण पेशाको सम्मानमा नकारात्मक असर पार्ने देखिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको उक्त गीत तत्काल प्रसारण बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरिएको छ। शिक्षक समुदायको सम्मान र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै गीतमा आवश्यक सुधार गर्न पनि महासंघले आग्रह गरेको छ।
साथै, महासंघले आफ्नो मागलाई बेवास्ता गर्दै गीत यथावत् सार्वजनिक र प्रसारण गरिरहे त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ। यससँगै गीतको विषयवस्तु र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा समेत पक्ष–विपक्षमा बहस सुरु भएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...


