आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा

काठमाडौं,कात्तिक २२ - नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो । बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि पुज्ने चलन छ ।
कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
आज बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान गरेर बलेको बत्ती दक्षिण फर्काएर बगाउने चलन छ । यसो गरेमा मृत्युपश्चात् नरक जानुनपर्ने धार्मिक विश्वास छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत समेत छ । यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ ।
गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र म्ह पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ । यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटलाई तोकेको छ । यमपञ्चकको पहिलो दिन हिजो शनिबार कागपूजा गरिएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



