Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो, चितवनमा मात्रै ५२ शव

S
Sristi Thakuri
२०२६-०८-२७, ०६:४९ AM
होमपेज/विशेष समाचार
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो, चितवनमा मात्रै ५२ शव

काठमाडौं , भदौ ११ - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १७७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार विभिन्न नदी तथा खोलाका तटीय क्षेत्रमा शवहरू फेला पर्ने क्रम जारी छ। बाढीले बगाएका शवहरू विभिन्न जिल्लाका नदी किनार तथा तटीय क्षेत्रमा फेला परिरहेका छन्।

बाढी प्रभावित क्षेत्रबाट सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार चितवनमा मात्रै ५२ जनाको शव फेला परेको छ। उनका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म १०६ जनाको शव भेटिएको छ।

बाढीको मुख्य प्रभावित क्षेत्र रसुवामा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै नुवाकोटमा १७ र धादिङमा २१ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशअन्तर्गत पर्ने गोरखा र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रमा समेत शव फेला परेका छन्। ती शवहरूलाई प्रहरीले उद्धार गरी पहिचानको प्रयास गरिरहेको जनाएको छ।

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ। नदीको बहावसँगै शवहरू तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने भएकाले विभिन्न जिल्लाका नदी किनारमा समेत प्रहरीले खोजी तथा निगरानी बढाएको छ।

प्रहरीका अनुसार फेला परेका शवको पहिचान गर्ने कार्य पनि जारी रहेको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com