Global TV Logo
लोड हुँदैछ...

भोटेकोशीको भीषण बाढीमा सुदूरपश्चिमका ८५ जना बेपत्ता

S
Sristi Thakuri
२०२६-०८-२७, ०७:४१ AM
होमपेज/विशेष समाचार
भोटेकोशीको भीषण बाढीमा सुदूरपश्चिमका ८५ जना बेपत्ता

काठमाडौं , भदौ ११ - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका ८५ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार सम्पर्कविहीनमध्ये चार जना सुरक्षाकर्मी छन्। उनीहरूमध्ये तीन जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरीका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै कञ्चनपुरका नागरिक सम्पर्कविहीन भएका छन्। कञ्चनपुरका २९ जना, कैलालीका २० जना, डडेल्धुराका १५ जना, बाजुराका १४ जना, बैतडीका चार जना, डोटीका दुई जना र अछामका एक जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुने अधिकांश रसुवामा सञ्चालित विभिन्न जलविद्युत आयोजनामा कार्यरत मजदुर हुन्। त्यसबाहेक केही सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिहरू पनि बाढीपछि सम्पर्कविहीन भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको एसएसपी विष्टले जानकारी दिए। जिल्लाबाट थप विवरण संकलन गर्ने काम भइरहेको भन्दै उनले सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने बताए।

प्रदेश प्रहरीले रसुवामा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप जानकारी जुटाउँदै उनीहरूका परिवारसँग समन्वय गरिरहेको जनाएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको बताइएको छ।

प्रहरीले सम्पर्कमा आउन नसकेका नागरिकको अवस्था यकिन गर्न स्थानीय तह, सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्य अघि बढाइरहेको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com