मत घट्नुको कारण खोज्दै एमाले, संगठन पुनर्संरचनासँगै नयाँ राजनीतिक यात्राको तयारी

काठमाडौं, असार २८ —प्रतिनिधिसभा निर्वाचनपछि केही समय आन्तरिक समीक्षा र सांगठनिक गतिविधिमा केन्द्रित रहेको नेकपा एमाले अहिले संगठनलाई पुनः चलायमान बनाउने अभियानमा सक्रिय भएको छ । निर्वाचनमा अपेक्षा अनुसारको सफलता हासिल गर्न नसकेपछि एमालेले देशभरबाट सुझाव संकलन गर्दै पार्टीको आगामी दिशा तय गर्ने तयारी गरेको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सार्वजनि क गतिविधिमा केही सुस्त देखिएको एमालेले जेठ महिनादेखि भने संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको थियो । जेठ ८ गते बसेको पार्टीको आठौँ सचिवालय बैठकले केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको कार्यविभाजन टुंगो लगाउनुका साथै ३३ वटा विभागका प्रमुख, जिल्ला इन्चार्ज, २४ वटा जनसंगठनका इन्चार्ज तथा पदाधिकारीहरूको जिम्मेवारीसमेत निर्धारण गरेको थियो । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले सातै प्रदेशसहित विभिन्न तहबाट सुझाव संकलन गरिसकेको छ ।
प्रदेश कमिटी, विभाग, सल्लाहकार परिषद्, प्रवास संगठन, जनसंगठन तथा विभिन्न तहका नेता–कार्यकर्ताबाट प्राप्त सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरिरहेको छ । “१३ वटा स्थानमा सुझाव संकलन गर्ने काम भयो । प्रदेश, विभाग, सल्लाहकार, नियोग, प्रवास तथा संगठनात्मक क्षेत्रबाट आएका सुझावलाई समेटेर अहिले एकीकृत प्रतिवेदन लेखनको काम भइरहेको छ ।”कार्यदलले तयार पार्ने प्रतिवेदनमा निर्वाचनमा देखिएका कमजोरी, संगठन सञ्चालनका चुनौती, कार्यकर्ताका भावना तथा पार्टीलाई थप एकताबद्ध र प्रभावकारी बनाउने विषय समेटिने एमालेले जनाएको छ ।
“प्रतिवेदनको काम दुई–तीन दिनभित्रै सकिनेछ । कार्यकर्ताको कुरा सुनेर वैचारिक, सांगठनिक र राजनीतिक हिसाबले पार्टीलाई कसरी अघि बढाउने भन्ने विषय प्रतिवेदनमा समेटिनेछ । त्यसपछि एमाले नयाँ ढंगले जनतामाझ जानेछ । निर्वाचनमा मत घट्नुका कारण, अपेक्षित सिट हासिल गर्न नसक्नुका आधार र चुनावी रणनीतिमा भएका कमजोरीबारे एमालेले गम्भीर समीक्षा गरिरहेको छ ।
प्राप्त सुझावका आधारमा आगामी राजनीतिक रणनीति र संगठन सञ्चालनको नयाँ खाका तयार गर्ने एमालेको तयारी छ । यसैबीच पार्टीभित्र नेतृत्व परिवर्तनको बहससमेत चलिरहेको छ । केही नेताहरूले बदलिँदो राजनीतिक परिस्थितिअनुसार नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् भने केही नेताहरूले निर्वाचन परिणामलाई केवल पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वसँग मात्र जोडेर हेर्न नहुने बताउँदै आएका छन् ।
यस्ता राजनीतिक र सांगठनिक विषय पनि समीक्षा प्रक्रियाकै क्रममा छलफल भइरहेको एमाले नेताहरूले बताएका छन् । एक महिनासम्म सञ्चालन गरिएको सुझाव संकलन अभियानबाट प्राप्त निष्कर्ष कार्यदलको प्रतिवेदनमार्फत सार्वजनिक हुनेछ । उक्त प्रतिवेदनले एमालेको आगामी संगठनात्मक सुधार, राजनीतिक रणनीति र पार्टी सञ्चालनको दिशासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचन परिणामपछि देखिएको चुनौतीलाई अवसरका रूपमा उपयोग गर्दै संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने र आगामी निर्वाचनका लागि बलियो आधार तयार गर्ने लक्ष्य एमालेले लिएको छ । पार्टीभित्रका नेता तथा कार्यकर्ताले भने समीक्षा प्रक्रिया निष्पक्ष, तथ्यपरक र परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । प्राप्त सुझावलाई व्यवहारमा लागू गर्न सके संगठन पुनः मजबुत बन्ने उनीहरूको विश्वास छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



